चार प्रदेशका केही स्थानमा भारी वर्षा र मधेश तथा कोशी प्रदेशमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०८१ मा प्रकाशित


पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशकाका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले आग्रह गरेको छ ।