आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गुरुङको सो फैलु र म्होँसीँ छ्योएसहित १८ पुस्तक सार्वजनिक

-


     मर्दी न्युज    
     २४ साउन २०८१ मा प्रकाशित


काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गुरुङ जातिको पच्युले सो फैलुमा पढिने शास्त्र र म्होँसी त्हेँ गर्दापढिने शास्त्रसहित विभिन्न विधाका १८ वटा पुस्तक सार्वजनिक गरेको छ।

३० औँ विश्व आदिवासी दिवसको अवसर पारेर आज एक कार्यक्रमका बीच ती पुस्तक आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष शेरधन राई, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमलप्रसाद राजवंशी, पच्यु पैंडी चिवा यारजङ गुरुङलगायतले पुस्तक सार्वजनिक गरेका छन्।

पुस्तक सार्वजनिक गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रतिष्ठानको यो कार्यले भाषा दस्तावेजिकरण हुनुका साथै संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन भएको र यी पुस्तकहरूमा भएको विभिन्न आदिवासी जनजातिहरूको विवरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई विकास रणनीति बनाउनमा ठूलो सहयोग पुग्ने योजना बताए।

प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङका अनुसार यसवर्ष सूचीकृत आदिवासी जनजातिमध्येका २२ वटा पुस्तक प्रकाशन भएको जानकारी दिइन् । ती पुस्तकमा सम्बन्धित जातिको चिनारी, इतिहास, आर्थिक, सामाजिक, भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शिक्षा आदि विषय समेटिएको बताइन् ।

सार्वजनिक पुस्तकहरुमा गुरुङ (तमु) जातिको थर र उपथरहरु, आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र शिक्षासम्बन्धी अधिकार, याक्थुङ स्थाननाम, आदिवासीको दृष्टिकोणमा नेपालमा संघीयताको कार्यान्वयन, नेपालको प्रजातान्त्रिक आन्दोलनमा किरात राई समुदायको योगदान, कोच राजवंशी जातिको चिनारी, नेपालको कानुनी इतिहास र आदिवासी जनजातिहरुको हक, अधिकारीसम्बन्धी व्यवस्था, मगर जातिको थर र उपथरहरुलगायतका रहेका छन् ।