आज ३० औँ विश्व आदिवासी दिवस मनाइँदै

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


पोखरा । विश्वका आदिवासी जनजातिहरुले आज ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउँने गर्दछ । विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।

यसैक्रममा गण्डकी प्रदेश समन्वय परिषद पोखराले पनि विविध सांस्कृतिक कार्यक्रम तथा बाजागाजा र झाँकी सहित कार्यक्रमको आयोजना गरिएको छ । यस्तै काठमाडौंस्थित नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले पनि ३० औँ विश्व आदिवासी दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मुल नाराको साथ यसवर्ष नेपालका आदिवासीहरुले विभिन्न कार्यक्रमसहित यो दिवस मनाउँदै छन् । जसअनुसार आज शुक्रवारका दिन नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित पोखरा, काठमाडौं, चितवन, रुपन्देहीलगायतका विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित क्षेत्रका कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, महासङ्घका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्षलगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाबाट हजारौँको उपस्थिति रहने जनाइएको छ ।