‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र र कमलालाई अर्पण

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् ।

फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजारले सम्मान गरेका हुन् ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताए ।

उनले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे ।

प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गरे ।

उनले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताए । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उनले भने, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’

अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् ।

‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भनिन्, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’

पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत छन् भने, रानामगर नवलपुर टाइम्सका सम्पादक हुन् ।