पोखरा । तमु प्ये संकलन तथा प्रकाशन केन्द्र पोखरामा पै त्हे म्हुदु ङ्योब (अर्गु दिन हेराउने÷जुराउने) तालिम शुरु भएको छ । आज शनिवार एक कार्यक्रमको आयोजना गरी अर्गु दिन जुराउनेसम्बन्धी तालिमको शुरुवात गरेको केन्द्रका संयोजक ख्यामबहादुर तमुले बताए ।
कार्यक्रमबारे प्रकाश पार्दै संयोजक तमुले तमुहरुमा आप्mनो मौलिकपन हराउँदै गएकाले त्यससम्बन्धी जनचेतना जगाउने उद्देश्यले तालिमको आयोजना गरेको बताए । ‘खेगी तथा चोंगीले पैंडी (ज्योतिष)शास्त्रबारे ज्ञान होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो’, उनले भने, ‘समाजमा थुप्रै पैंडी जन्माउन सकोस् भन्ने केन्द्रको अर्को लक्ष्य हो ।’
तमु प्ये ल्हु संघका संस्थापक सदस्य तथा भोवर पालच्हले हिजोआज शुभ दिन तथा साइतलाई ख्याल नगर्नाले थुप्रै दुर्घटना व्यहोर्नु परेको उदाहरण पेश गरे । तमुको अर्गु दिन उचित समय र दिनमा थालनी नभएमा त्यसबाट उल्टो परिणाम भोग्नुपर्ने बताए । अर्गु शुरुवात दिनलाई हल्काफुल्का रुपमा लिन नसकिने पनि उनले प्रष्ट पारे ।
अर्का वक्ता तथा पच्यु एवम् पैंडी गंगाबहादुर तमुले पहिलोपटक पैंडी तालिम आयोजना गरेकोमा केन्द्रप्रति आभार व्यक्त गरे । संस्था स्थापना पश्चात कुनै पनि तमु संघसंस्थाले पैंडी तालिम आयोजना गरेको आफूलाई थाहा नभएको बताउँदै केन्द्रले पहिलोपटक आयोजना गरेकोमा खुशी व्यक्त गर्दै पैंडी (ज्योतिष) विद्या सिक्न धेरै परिश्रम गर्नु पर्ने पनि बताए ।
पै त्हे म्हुदु तालिमका प्रमुख प्रशिक्षक तथा पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमुले अर्गु दिन हेराउँदा आवश्यक सामग्री र विधिबारे सहजीकरण गरेका थिए ।
करिब १४ जना प्रशिक्षार्थी रहेको तालिमका सहप्रशिक्षकमा पच्यु तथा पैंडी क्या. श्रीलाल क्रोँम्छैँ तमु रहेका छन् । तालिम हप्तामा दुईपटक हुनेछ ।