आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     १ अशोज २०८१ मा प्रकाशित


पोखरा, १ असोज । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभाबना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।