
पोखरा । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा), गण्डकी प्रदेशको आयोजनामा आज बिहान पोखरा, नारेश्वरचोकस्थित आफ्नै कार्यालय अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
४५औं बिश्व पर्यटन दिवसको पुनित उपलक्ष्य तथा पोखरामा भएको रक्त अभावलाई मध्यनजर गर्दै ‘रक्तदान, जीवन दान’ भन्ने मुल नारासहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक गिता सिग्देलले बताइन्। रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उनको टिमले रक्त संकलन गरेको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले गरेका थिए भने कार्यक्रम संचालन महासचिव चेतबहादुर कार्की ‘चेतन’ले गरेका थिए।

आफ्नो ब्यस्तताको बाबजुद पनि रक्तदान स्थलमा उपस्थित हुनुभइ रक्तदान कार्यक्रममा हौसला प्रदान गरेका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानशिँह गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतले आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजक लाई धन्यवाद ज्ञापन गरे।
प्रमुख अतिथिको हातबाट पहिलो रक्तदाता सन्दीप श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक नाट्टा गण्डकीका कार्यसमिति सदस्य गिता सिग्देलले मर्दी न्युजलाई जानकारी दिए।
पोखरामा परिरहेको अविरल झरी तथा मौसम प्रतिकुलताका बाबजुद नाट्टा गण्डकी प्रदेशका सदस्यहरु, अन्य पर्यटन ब्यबसायी संस्थाका सदस्यहरु, आम जनता तथा सुभेच्छुकहरुको कार्यक्रम स्थलमा बाक्लो उपस्थिति रहेको थियो।

