आज थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असाेज १४ गते २०८१ मा प्रकाशित


पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।