रास्वपा सभापति लामिछानेलाई आज काठमाडौँ लगिँदै

-


     मर्दी न्युज    
     ११ मंसिर २०८१ मा प्रकाशित


पोखरा । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज मंगलबार बयानका लागि काठमाडौं लगिने भएको छ ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगीसँग सम्बन्धित रहेर अनुसन्धान गर्न थप बयानका लागि लामिछानेलाई आज बिहान ८ः४० बजे बुद्ध एयरमार्फत पोखराबाट काठमाडौँ लैजान लागिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनमाथि अनुसन्धान भइरहेको छ । यसैबीचमा उनलाई रुपन्देही लगेर बयान पनि लिइसकिएको छ ।

लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरू पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।