अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

-


     रासस    
     १२ मंसिर २०८१ मा प्रकाशित


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । 

जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा वर्जित गरेको भए पनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितवीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’

पालिका भित्रका सबै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

‘‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो, उनले भने, ‘‘यसबाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’’

दलित र गैह्रदलित बीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए । ‘‘दीर्घकालीन रूपमा उनीहरूले लाभ लिन सक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उनले भने, ‘‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने  विश्वास लिइएको छ ।’’