पोखरा । नेपाल सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको नियमनका लागि विधेयक बनाइरहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोग, सञ्चालन र नियमन गर्न आवश्यक रहेकाले विधेयक आवश्यक परेको बताए ।
‘अहिले त शब्द÷शब्द, वाक्य÷वाक्यमा यति धेरै अराजकता बढको छ । जातीय विविधता भएको देशमा जाति–जाति बिचमा विभेद फैलाउने काम गरिरहेको छ । दुर्गा प्रसाईं जस्ताको अभियान त्यही भित्र छ,’ मन्त्री गुरुङले भने, ‘राष्ट्रिय स्वधिनता, एकता, स्वतन्त्रता, स्वाभिमानको प्रवद्र्धन गर्ने मिडिया हुनुप¥यो । मिलेर बसेको देश जहाँ साँस्कृतिक सहअस्तित्व छ, जहाँ नागरिक सहिष्णुता, जातीय र सामाजिक सद्भाव कायम भएर बसेको देशमा गलत काम हुन्छ भने यसको नियम हुनुपर्छ ।’
नियमनका लागि सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषदमा ल्याएर पास गर्ने चरणमा पुगेको मन्त्री गुरुङ बताए । विधेयक आएपछि युट्युब, फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा देखिने अराजकतालाई अन्त्य गर्दै अनुशासित बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
मन्त्री गुरुङले अनलाइन मिडियाको नियमन जरुरी रहेकोमा जोड दिए । उनले अनलाइन मिडियाको परिचालन र व्यवस्थापनमा अराजकता रहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण वा नियमन गर्नेको लागि प्रेस काउन्सिलको स्थापना भएको भएपनि त्यसलाई अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताए । त्यो विधेयक हिउँदे अधिवेशनबाट पारित हुने विश्वास उनको छ ।
मन्त्री गुरुङले अनलाइन मिडियालाई व्यवस्थापन गर्ने, नियमन गर्ने र स्वनियमन गर्ने काम पनि मिडिया काउन्सिलले प्रभावकारी ढंगले काम गर्न सकोस् भनेर त्यसलाई स्वतन्त्र स्वायत्त संस्थाको रुपमा स्थापना गर्नको लागि विधेयक बनाउन प्रष्ट्याए ।
मन्त्री गुरुङले पछिल्लो समयमा इन्टरनेटका माध्यमबाट अपराध, भैरहेकाले साइबर क्राइम रोकथाम गर्नु आवश्यक रहेको पनि बताए । यसका लागि साइबर सेक्युरिटी सम्बन्धी विधेयक तयार गरेर यहीँ वर्ष भित्रमा कार्यान्वयनमा ल्याउने गरी मन्त्रालय लागिपरेको उनले सुनाए ।