म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

-


     मर्दी न्युज    
     २६ मंसिर २०८१ मा प्रकाशित


गलेश्वर (म्याग्दी) । बेनी-हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा-१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट- दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो ।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइनेछ भने दूधेखोला-भकिम्ली खण्डमा तीन सय ९० मिटर  ढलान गरिने छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि रु एक करोड ६० लाख बजेट विनियोजन भएको छ । हाँडेभिर-बगरफाँट दुई किलोमिटर  कालोपत्र भइसकेको छ । सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ ।

उक्त सडक बेनी नगरपालिका-२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका-४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए। रासस