बुटवल । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।
बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।