नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

-


     मर्दी न्युज    
     १ पुस २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छिन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी निर्मला शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन्। आइतबार राति केन्द्रीय निर्वाचन समितिले शर्माको विजयी घोषणा गरेको हो।

निर्वाचित अध्यक्ष शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत मात्रै पाएका थिए। विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियनको असन्तुष्ट समूहलगायतका श्रमजीवी पत्रकारको प्यानल खडा गरी चुनावमा प्रतिस्पर्धा गरेका थिए।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत ल्याए। उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छिन्। उनले ४ हजार ७०५ मत प्राप्त गरेको जनाइएको छ ।

अन्य पदाधिकारीहरूमा समावेशी उपाध्यक्ष उमेद बागचन, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाति सचिव सविन प्रियासन, मधेस सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट सचिव वैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।

नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनअन्तर्गत केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो।