पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेमाथि तीन वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो ।
प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा रास्वपा सभापति लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय व्यक्त गरेको छ । प्रहरीले उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५१ मध्ये ३७ जना फरार रहेका छन् । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पेज लामो रहेको प्रहरीले बताएको छ । गत कार्तिक २ गते पक्राउ परेका रवि लामिछाने दुई महिनादेखि प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि हिरासतमा राख्न सातौँ पटक म्याद थप गरेको थियो ।