मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय जनताद्वारा तालाबन्दी

-


     मर्दी न्युज    
     २० पुस २०८१ मा प्रकाशित


कास्की, २० पुस । उद्योगपति विनोद चौधरीको चौधरी ग्रुप (सीजी)को लगानीमा संचालित मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय जनताद्वारा तालाबन्दी गरेका छन् । अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका, पर्वत अन्तर्गत रहेको मध्य मोदी जलविद्युत आयोजनाले सम्झौताअनुसार कार्यान्वन नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं. ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पुर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको, मोदीखोलामा १०% पानीको बहाब न छोडेको, आयोजना निर्माणधिन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र क्षति पुगेकोमा क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यलय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरि सुनुवाइ नगरेको, आयोजनाले स्थानीयको लागि साधारण शेयर (आईपीओ) जारी नगरेको लगायतका आरोप लगाउँदै अन्नपूर्ण– ७ कास्कीका युवा नेता बिष्णु चापागाईंको नेतृत्वमा गएको समूहले आयोजना पीडित उपभोक्ता समिति तथा जनताको तर्फबाट तालाबन्दी गरेको हो ।

साथै आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको एक्साभेटरको चाबी पनि सो समूहले कब्जा गरेर लिएको छ ।