सोलार जोडिएपछि उज्यालो बन्यो निसेलढोर

-


     मर्दी न्युज    
     २० पुस २०८१ मा प्रकाशित


पोखरा । बागलुङ जिल्लाको पश्चिमोत्तर दुर्गम स्थानका रुपमा रहेको निसेलढोर दातृ निकायबाट घरघरमा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडानपछि दियालोको भरमा बस्दै आएका स्थानीय खुसि भएका छन ।

युनिका फाउन्डेसन नेदरल्याड्स, निसीखोला गाँउपालिका र कर्मफ्लाइट्स फाउन्डेसन पोखराको कुल ११ लाख २८ हजार बराबरको लागतमा सोलार प्यानलसहित सबै सामाग्री खरिद गरेर घरघरमा जोडिएपछि निसेलढोर अब रातको समयमा पनि उज्यालो बन्ने भएको हो ।

स्थानीय नविना घर्ती मगरले भने, ‘जिन्दगीभर दियालो बालेर बसियो, अब त उज्यालोमा बस्न पाइने भयौ । केटाकेटीले पनि साँझ बिहान पढन पाउने भए, खुसि लाग्यो । अब चाँडै सरकारले विजुली ल्याइदिए धन्य हुन्थ्यो ।’

स्थानीय ६८ घरसहित एक आधारभूत विद्यालय र एक सामुदायिक स्वास्थ्य इकाई गरी ७० वटा २० वाट क्षमताको सोलार प्यानल ब्याट्री, ३ वटा बल्ब, एक मोबाइल चार्ज गर्ने पोर्ट र वायरीङका सामानसहित सबै घरमा बत्ती जडान गर्ने गरी प्राविधिकहरुको व्यवस्था गरिएर्को फ्लाइट्स फाउन्डेसनले जनाएको छ ।

कर्मफ्लाइट्स फाउण्डेशनको कार्वान्यवनमा युनिका फाउडेशन नेदरल्याण्ड्स र कर्मफ्लार्ईट्स फाउडेशनको ९ लाख ७८ हजार १ सय ८१, र निसीखोला गाउँपालिकाको १ लाख ५० हजार लागत साझेदारीमा उक्त ‘निसेलढोर उज्यालो होम सोलार परियोजना’ हस्तान्तरण गरिएको पनि संस्थाका निर्देशक प्रेमकुँवरले जानकारी दिए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति मगरले हस्तान्तरण कार्यक्रममा बोल्दै अँध्यारोमा बस्न बाध्य हुँदै आएका नागरिकहरुलाई दातृ निकायको सहयोगले उज्यालो दिएकोमा धन्यवाद ज्ञापन गर्दै चाँडै केन्द्रीय विद्युत प्रसारण लाइन ल्याउने गरी पहल भइरहेको बताए । निसेलढोर विकासका हिसाबले पछि परेको जनाउँदै गाँउपालिकाले क्षमताका आधारमा विकास गरिरहेको तर पालिका एक्लैले सबै काम गर्न नसक्ने भएकोले साझेदारीमार्फत विकासमा हातेमालो गर्न चाहेको पनि बताए ।
सोलारको सहयोगले मोबाइल चार्ज गर्न ५÷६ घण्टा हिडेर निसी वा भुजी पुग्नु पर्ने बाध्यता हटेकोमा कर्मफ्लाइट्स संस्थालाई धन्यवाद दिए । फाउण्डेसनले विगतमा निःशुल्क स्वास्थ्य शिविर, शिक्षक तालिम, आइसिटि कम्प्युटर ल्याब स्थापनालगायतका काममा साझेदारी र सहयोग गरेकोमा यसपटक सोलारको लागि विशेष पहल गरेकाले संस्थाका कार्यक्रम निर्देशक तथा पालिकाकै बासिन्दा प्रेमबहादुर कुँवरलाई आभार प्रकट गरे ।

युनिका फाउडेशन नेदरल्याण्ड्सका नेपाल प्रमुख तथा बागमती प्रदेश सभाका (पूर्व) माननीय रमेश पौड्यालले बोल्दै नेपालमा ९८ प्रतिशत वस्तीमा विद्युतको पहुँच पुग्दै गर्दा निसेलढोर राज्यको पहुँचमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले राज्यको ध्यान छिटो पुग्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुविर विश्वकर्मा, निसीखोला गाउँपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।