शक्तिशाली भूकम्पमा परेर तिब्बतमा कम्तीमा ९५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     २३ पुस २०८१ मा प्रकाशित


चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको विवरण चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन्।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा सयौँ भवनहरू भत्किएका र १३० जना घाइते भएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ।

शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो। उनी तिब्बती बुद्ध धर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन्।

चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ। बीबीसी