पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।
सूर्यदर्शनसहित देशैभर जिबी राईको समूहले ५ सहकारी सञ्चालन गरी अर्बौं हिनामिना गरेको संसदीय विशेष समितिले निष्कर्ष छ । लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा देशका विभिन्न भागमा रहेका ५ सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औंल्याएको छ ।