
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका-७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।
रघुगंगा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिम खोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदल मार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमंगले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।
रघुगंगा गाउँपालिका-७ चिम खोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । “एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ”, उनले भने, “एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।” स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए ।
आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिम खोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगंगाको ठाडा खानी, कुइने खानी, राय खोर, दर्मीजा, बादुक, राम मन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।