ताप्लेजुङ घटनाकाबारे चार जिल्लाका सांसदहरु संग छलफल गर्दै गृहमन्त्री

-


     मर्दी न्युज    
     १५ माघ २०८१ मा प्रकाशित


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चार जिल्लाका प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका सांसदहरूसँग छलफल गर्न लागेकाे हो।

छलफलका लागि अपराह्न ५ बजे गृह मन्त्रालय बोलाइएको इलाम २ का सांसद सुहाङ नेम्वाङले जानकारी दिए ।

माघ १२ गते शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबिच झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै पहिचान पक्षधरहरूको समूहले आज मेची राजमार्ग र तमोर कोरिडोर बन्द गरेका छन् । मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याकथुम चुम्लुङलगायतका सङ्घसंस्थाले आजदेखि अनिश्चित कालीन बन्द आह्वान गरेको छन् ।