पाथीभरा केबलकार विषयमा सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

-


     मर्दी न्युज    
     २३ माघ २०८१ मा प्रकाशित


काठमाडौँ । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवाद सम्बन्धी सहमति भएको छ ।

मंगलबार राति अबेरसम्म नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो ।

सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।

सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

यस्तै सहमति अनुरूप, पाथीभरा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित हुने भएको छ भने आयोजनासम्बन्धी बाँकी विषयमा थप छलफल गर्न माघ २७ गते बिहान ११ बजे पुनः वार्ता गरिनेछ। यस छलफलमा परियोजनाका अन्य प्राविधिक, कानुनी, सामाजिक र सांस्कृतिक पक्षहरूसम्बन्धी विषयमा विस्तृत चर्चा गरिने बताइएको छ।

वार्ता गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र संघर्षरत पक्षका प्रतिनिधिहरूबिच सम्पन्न भएको हो। सहमतिपछि आन्दोलनरत पक्षले यातायात बन्द फिर्ता लिने निर्णय गरेको छ।