कर्मफ्लाइट्सद्वारा पुन: प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाइ तालिम सम्पन्न

-


     मर्दी न्युज    
     माघ २४ गते २०८१ मा प्रकाशित


पोखरा । कर्मफ्लाइट्स फाउन्डेसन नेपालले इज च्यारिटी युके र आयरल्याण्डको हाई क्रस कलेजसँगको सहकार्यमा लैङ्गिक समता र महिनावारी स्वास्थ्य सचेतनाको लागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सिलाइसम्बन्धि १६ दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

सीप विकासको लागि सिलाइ तालिम गत जनवरी १९ देखि फेब्रुअरी ३, २०२५ सम्म पोखरा—६, बंगलादीस्थित डीएफजी लमजुङ इन्टरप्राइज (रिभरसाइड हस्तकला उद्योग) मा सम्पन्न भएको थियो । बागलुङ, तनहुँ र कास्की जिल्लाका छ जना उत्साही स्थानीय महिलाहरूलाई उच्च गुणस्तरीय, डीएफजी मानक पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गर्ने सीप सिकाइएको हो । प्रशिक्षक अनिता गुरुङको नेतृत्व, दीपक गुरुङको अभिमुखीकरणका साथ तालिम व्यावहारिक सिकाइमा केन्द्रित भएको थियो । तालिम सिकाइले सहभागीहरूमा आत्मविश्वास बढ्नुका साथै दिगो महिनावारी प्याड बनाउन सिकाइएका थिए ।

समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाको सामाजिक विकास विभागका वरिष्ठ अधिकृत अर्जुन न्यौपानेले कर्माफ्लाइट्स फाउन्डेसनले गरेको पहलको प्रशंसा गर्दै ‘प्रशिक्षार्थीहरूले आफ्नो नयाँ सीपलाई उद्यम स्थापना गर्न र महिनावारीसँग सम्बन्धित सामाजिक कलङ्क तोड्न योगदान पु¥याउन सके भने आफ्नोे र समुदायलाई नै फाइदा हुने’ बताए । सीपलाई व्यवसायीकरण गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

कर्मफ्लाइट्स फाउन्डेसनकी अध्यक्ष शर्मिला शर्माले आफ्नो सीपलाई परिष्कृत गर्न र व्यक्तिगत र व्यवसायिक दुवै प्रयासहरूमा लागू गर्न आग्रह गरिन् । उनले स्थानीय र सङ्घीय सरकारी निकायहरूसँगको सहकार्यमा शैक्षिक र व्यवसायिक तालिम मार्फत् महिला र बालबालिकालाई सशक्त बनाउन फाउन्डेसन प्रतिबद्ध भएको बताइन् ।

प्रशिक्षार्र्थी एकल आमा पार्वती दर्र्जीले अवसरको लागि कृतज्ञता व्यक्त गर्दै सिलाई मेसिन र कपडामा पहुँच भएमा पुनः प्रयोग गर्न सकिने प्याड बनाउने आफ्नो विश्वास रहेको बताइन् । त्यस्तै, कृष्णा कुमारी फगामी मगरले पहिले सिलाइ अनुभव नभए पनि तालिमको प्रभावकारिता र यस्ता कार्यक्रमले जीवन परिवर्तन गर्ने सम्भावना रहेको बताएकी थिइन् ।

दीगो भविष्यतर्फ ९९% व्यवहारिक अभ्यासमा केन्द्रित तालिममा महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धि अभिमुखीकरण सत्रहरू पनि समावेश थिए ।

कर्मफ्लाइट्स फाउन्डेसनले पोखरा र वरपरका क्षेत्रहरूमा लैङ्गिक समानता र सामाजिक कार्यलगायतका परियोजनाहरू सुरु गरेको छ । जसले महिनावारी स्वास्थ्य शिक्षालाई प्रवद्र्धन गर्न स्कुलका विद्यार्थीहरू र किशोरकिशोरीहरूलाई लक्षित गर्दछ । यसले सामुदायिक विद्यालयहरूमा सरकार समर्थित प्याड परियोजनालाई पूरक बनाउनेछ । मर्यादित महिनावारी स्वच्छता, आफ्नो शरीरलाई राम्रोसँग जाँच्ने र आत्मसुरक्षा पाठहरूमा अभिमुखीकरण थप्ने कुरा रहेको कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले बताए । तालिम पश्चात् पूर्ण रुपमा पोख्त भएका ३ जना प्रशिक्षार्थीहरुलाई पहिलो चरणमा सिलाउने कल र अन्य आवश्यक सामग्री पनि प्रदान गरिएको बताइएको छ ।