
पाेखरा । नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिमबाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु/नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
पोखरा महानगरले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको जनाएको थियो भने कोटीहोम महायज्ञ सञ्चालनका लागि जग्गा उपलब्ध नगराउन नेपाल ट्रष्टको कार्यालयलाई माघ २५ गते महानगरले पत्राचार गरेको थियो ।
यसअघि महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको थियाे भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेका थिए । साथै, पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले मिति २०८१ मंसिर ९ गते पत्रमार्फत अनुमति प्रदान गरेको देखिन्छ।
यस आदेशपछि कोटीहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कानूनी अड्चन हटेको फाउण्डेशनले जनाएको छ। अदालतको निर्णयपछि आयोजनाको तयारीलाई थप तीव्रता दिने फाउण्डेशनका पदाधिकारीहरू बताउँछन्।