दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

-


     मर्दी न्युज    
     फागुन ३ गते २०८१ मा प्रकाशित


म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । 

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई रु। पाँच.पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।

घरपझोङ गाउँपालिका-२ मार्फादेखि धमाङ-आलुबारी-याकखर्क र लोघेकर-दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ-यारा–घारा हुँदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १९२० बाट निर्वाचित प्रदेश सभा सदस्य विकल शेरचनले जानकारी दिए । 

“भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,” उनले भने “दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्त्वपूर्ण छ ।”

करिब १३ किलोमिटर दुरीको मार्फा-धमाङ-आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैँचा छ । परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडीबुटी खेती र दृश्य अवलोकनका हिसाबले महत्त्वपूर्ण छ ।

याकखर्क धौलागिरि चक्रीय पदमार्ग हुँदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरूलाई सहज हुनेछ । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ । 

हिन्दु र बौद्ध धर्मवालम्बीहरुको साझा तीर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ-यारा-घारा हुँदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तीर्थयात्री र पर्यटकहरूलाई सहज हुने मुस्ताङ १९१० बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्त्व भएको उनले बताए।  

गत वर्ष वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु। १०÷१० करोड बजेटको योजना शुरु भएको थियो । 

रानीपौवा–झोङ-तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम-कोरला सडकको छुसाङ-कागबेनी खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी-मुक्तिनाथ-उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ । 

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ-छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रिया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए । रासस