आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     फागुन ५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख  छ ।

साथै आज बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।