देशका अधिकांश भागमा बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८१ मा प्रकाशित


हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।