प्रतिकूल मौसमले हवाई उडान प्रभावित : परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८१ मा प्रकाशित


काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो ।

मौसम खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा आएको जहाज पनि कोलकाता डाइभर्ट भएको छ । विमानस्थल कार्यालयका अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको हो । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ-पोखरा, काठमाडौँ-भरतपुर, काठमाडौँ-नेपालगञ्ज, काठमाडौँ-राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ-जनकपुर, काठमाडौँ-भद्रपुर, काठमाडौँ-भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमा मौसममा बदली देखिएको छ ।