
पर्वत । गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ ।
बिहादी-३ रानी पानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पूर्ति घाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।