कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप

-


     मर्दी न्युज    
     फागुन २३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको बाराहीघाटमा शुक्रबार बिहान पोखरा महानगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको छ ।

नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा आयोजना गर्न लागिएको कोटिहोमका लागि भूमि पूजन सञ्चालन गर्न लाग्दा महानगरपालिकाले रोक्न खोजेपछि झडप भएको हो ।कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।

कार्यक्रम बिना अनुमति सञ्चालन गर्न खोजिएको भन्दै महानगर प्रहरीले रोक्न प्रयास गरेपछि आयोजक पक्षसँग विवाद उत्पन्न भई झडप भएको थियो । आयोजक पक्ष र नगर प्रहरीबीच झडप हुँदा दुवैतर्फका करिब एक दर्जन व्यक्ति घाइते भएका वडा कार्यालय बैदामले जानकारी दिएको छ ।

नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले अनुमति दिइएको छैन ।