आज फागु पर्वः पहाडी जिल्लामा होली धुमधामसँग मनाइँदै

-


     मर्दी न्युज    
     फागुन २९ गते २०८१ मा प्रकाशित


काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । तराई क्षेत्रमा भने भोलि होली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।

हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका भक्त प्रह्लादसंग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएको पौराणिक कथन छ ।

त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ । होलीका दहन पछि बिहानैदेखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ । यसका साथै फाल्गुण कृष्ण पूर्णिमाका दिन मनाइने होलीका दिनबाट वसन्त ऋतुको आगमन हुने भएकाले यसलाई वसन्त उत्सवकारुपमा पनि मनाउने गरिन्छ ।

सबै उमेर समूहले उत्सवका साथ मनाउने होलीमा रंगहरुका साथै नाचगान र रमाइलो गर्ने पनि चलन छ । होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनकारुपमा समेत लिइन्छ ।