
पोखरा । पोखरा महानगरपालिकाका फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार २५ हजार घुससहित महानगरको गेटबाट पक्राउ गरेको हो ।
अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले बताए । गिरी अहिले अख्तियारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रवक्ता राकेश पाण्डेले बताएका छन्।
पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरुको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् ।