
हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
वर्षा र हल्का हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।