आजबाट पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित


पोखरा । नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडान आजबाट नियमित गर्ने भएको हो ।

एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा साताको एउटा उडान गर्ने अनुमति पाएको छ ।

एयरलाइन्सका अनुसार हिमालयको एयरबस–३१९ सिरिजको जहाज आज सोमवार १२ः४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जहाजले भोलि मंगलवार बिहान ८ः२० बजे ल्हासा उडान गर्ने कम्पनीले जनाएको छ ।

हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानका लागि सबै व्यवस्थापन गरिसकेको बताएका छन् । हाल हिमालयले काठमाडौं–ल्हासातर्फ साताको ४ दिन नियमित उडान गर्दै आएको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरले साताको एउटा व्यवसायिक चार्टर्ड उडान गर्दै आएको छ ।