कोटेश्वर भाटभटेनी जोगाउने सुरक्षा गार्डलाई नगद ५ लाखको सम्मान

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८१ मा प्रकाशित


काठमाडौँ । राजावादी प्रदर्शन क्रममा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षा गार्ड सम्मानित भएका छन् ।

भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई सम्मान गरिएको हो ।

बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

१५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।

उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् । उनीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको हो ।

भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताएका छन् । गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाइँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दाबी समेत गरे ।

‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’, गुरुङले भने ।