जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०८१ मा प्रकाशित


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् । महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यालय प्रवेश गराएका हुन् ।

गुरागाईँलाई रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको थियो । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् । गत पुस ७ गतेदेखि गुरागाईँलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गरेका थिए । जवाफमा मन्त्रालयले उनलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।