
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका अधिकांश भू–भागहरूमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकाले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्छ । त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।