सगरमाथा चढ्ने तयारीमा रहेका असई छत्याललाई प्रधानमन्त्रीले गरे बिदाइ

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री ओलीले असई छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरेका हुन् ।

यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो । बिदाइ कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।

नेपाल सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद हुँदैछ ।