फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

-


     मर्दी न्युज    
     वैशाख २५ गते २०८२ मा प्रकाशित


पाेखरा । फेवातालमा आएको एक्कासि हावाहुरीका कारण डुंगा (बोट) पल्टिँदा तालको बीच भागमा फसेका ७ जना पर्यटकको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरीका अनुसार लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो । बोटिङ गरिरहेका बेला आएको हावाहुरीका कारण भारतका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति तथा पोखराकै नन्दबहादुर गुरुङ तालमा फसेका थिए।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोली परिचालित गरिएको थियो।

उद्धारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। अन्य ६ जनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।