भारत र पाकिस्तान ‘पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमत’

-


     मर्दी न्युज    
     वैशाख २७ गते २०८२ मा प्रकाशित


बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको” बताएका छन्।

सामाजिक सञ्जालको प्लाटफर्म ‘ट्रुथ सोशल’मा एक सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन्ः संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।

“सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेकामा म दुवै देशलाई बधाई दिन चाहन्छु।” भारतका विदेशसचिव विक्रम मिसरीले भारत र पाकिस्तान दुवै देशले स्थानीय समयानुसार अपराह्ण ५ बजेदेखि लागु हुने गरी “स्थल, हवाई र समुद्री हमला” रोकेको पुष्टि गरेका छन्।

उनका अनुसार पाकिस्तानका सैन्य कारबाही मामिलाका महानिर्देशकले उनका भारतीय समकक्षीलाई सम्पर्क गरेका थिए र दुवै पक्षले एकअर्कामाथि हमला नगर्ने सहमति जनाएका थिए।

अमेरिकाका विदेशमन्त्री मार्को रुबिओका अनुसार भारत र पाकिस्तान “तत्काल युद्धविराम गरेर कुनै तटस्थ स्थानमा विविध विषयमा वार्ता गर्न सहमत भएका छन्।”

“शान्तिको मार्ग रोजेकोमा हामी प्रधानमन्त्रीद्वय मोदी र शरिफको बुद्धिमत्ता, सावधानी र राजनेताको गुणको प्रशंसा गर्छौँ,”सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्।