पूर्व सञ्चारमन्त्री मोहन बस्नेत र पूर्व कानूनसचिव ज्ञवालीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

-


     मर्दी न्युज    
     जेठ २ गते २०८२ मा प्रकाशित


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बहादुर बस्नेत र पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारबाहिर गएर एकल निर्णयमार्फत टेरामक्स खरिद कार्यक्रमलाई प्राधिकरणको वार्षिक योजनामा समावेश गर्न निर्देशन दिएको पाइएको छ। यो निर्देशन सर्वोच्च अदालतको मिति २०७२/१०/२१ को आदेश र प्रचलित कानुनविपरीत रहेको आयोगको ठहर छ।

दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

परामर्शदाता भ्यानराइज सोलुसन्स् (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि राज्यको सम्पत्तिको दुरुपयोग गरी हानी नोक्सानी पुर्‍याएकोमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले मन्त्रीको निर्देशनअनुसार मिलेमतो गरी खरिद प्रक्रियामा अनियमितता गरेको र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप छ।