रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

-


     मर्दी न्युज    
     जेठ २ गते २०८२ मा प्रकाशित


काठमाडौँ ।  सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुना मुक्त गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय डा कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलन सम्पन्न भइसकेको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु ।”

गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका मिश्रलाई पक्राउ गरेको थियो । राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।