
पाेखरा । पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई स्व गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्व पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा शुक्रबार पुरस्कार प्रदान गरेका हुन् ।
पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कारको राशि २५ हजार एक रुपैयाँ रहेको छ ।
पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन ।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरुको छाता संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन् । पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रिय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् ।
स्व गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारिता मार्फत समाज, राष्ट्र र लोकतन्त्र प्रति योगदान पुर्याएका पत्रकारको सम्मानमा अर्पण गरिने गरिएको छ ।

