
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना माग पूरा गराउन बन्द र हड्ताललाई साधन नबनाउन आग्रह गरेको छ । वाणिज्य संघले वार्ताकै माध्यमबाट गतिरोधको अन्त्य गर्न सम्बन्धि पक्षलाई अनुरोध पनि गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारबाट राइड सेयरिङलाई व्यवस्थित र नियमन गर्न जारी ‘राइड सेयरिङसबन्धी नियमावली २०८२’ को विरुद्धमा यातायात व्यवसायी राष्ट्रिय महासंघले आह्वान गरेको विरोधका कार्यक्रम र सार्वजनिक यातायात अवरुद्ध पारिएपछि संघ सदैव बन्द र हड्तालको विरुद्धमा रहँदै आएको बताएका छन् ।
संघका उपमहासचिव सुदीप प्रधानाङ्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ हामी हरेक प्रकारका बन्द र हड्तालका कार्यक्रमको सख्त बर्खिलापमा छौँ । एक दिनको बन्द र हड्तालले अर्थतन्त्रमा ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने गरेको आँकडालाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन भन्ने हाम्रो मान्यता रहेको छ । आफ्नो पेशा÷व्यवसायको सुरक्षाको माग नाजायज हैन तर बन्द र हड्ताललाई त्यस्ता माग पूरा गराउने साधन बनाइन हुँदैन ।’
संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गर्दै प्रविधिलाई कसैले पनि रोक्न नमिल्ने आफ्नो धारणा प्रष्ट पारेको छ ।
‘सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामहरुलाई रोक्न सकिँदैनरमिल्दैन । राइय सेयरिङ सूचना–प्रविधिले दिएको अर्को अवसर र सुविधा हो भन्ने हाम्रो ठम्याइ रहेको छ । विभिन्न विकसित राष्ट्रमा वैधानिक तरिकाले निर्वाध संचालनमा आएको राइड सेयरिङलाई कानूनी दायरामा ल्याइ नियमन गर्नु स्वागतयोग्य कदम हो, ’विज्ञप्तिमा भनिएको छ,‘ यसले रोजगारी सिर्जना,राजश्व वृद्धि र यृुवा पलायन रोक्न पनि उत्तिकै योगदान दिन्छ भन्नेमा हामी प्रष्ट छौँ । यसर्थ, पोखरा उद्योग वाणिज्य संघ गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङसबन्धी नियमावली २०८२’ लाई हार्दिक स्वागत गर्दछ । नियमावलीले संचालनमा रहेका राइड सेयरिङलाई व्यवस्थित र सुरक्षित बनाउने हाम्रो अपेक्षा रहेको छ ।’
संघले निजी क्षेत्रको ठूलो लगानी रहेको सार्वजनिक यातायात क्षेत्रलाई नजरअन्दाज नगर्न र यसमा भएको लगानीको सुरक्षाप्रति गम्भीर बन्न संघीय तथा प्रदेश सरकारसँग अनुरोध पनि गरेको छ ।
विज्ञप्तिमा वर्तमानमा देखिएको गतिरोध अन्त्यका लागि पोखरा उद्योग वाणिज्य संघ सहजीकरणका निम्ति तयार रहेको पनि उल्लेख छ ।