मुख्यमन्त्री पाण्डेले भने ‘सडक पूर्वाधारको स्तरवृद्धि प्राथमिकतामा’

-


     मर्दी न्युज    
     जेठ २६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।

“जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासाथ सप्ताहव्यापी अभियान सुरु गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले पोखरामा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारको स्तरवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

“यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन, सर्वसाधारण नागरिकलाई सरल, सहज सेवा दिन प्रदेश सरकारले यातायात सेवालाई विस्तार र व्यवस्थित गर्दै आएको छ”, उनले भने, “यस क्षेत्रमा अनलाइन प्रणालीको विकासलाई हामीले निरन्तरता दिएका छौँ” देशभर चर्चा भएको राइड सेयरिङलाई व्यवस्थित गर्ने गरी गण्डकी प्रदेश सरकारले कानुन निर्माण गरेको छ ।”

“सरल, सहज सेवा लिने आम नागरिकको चाहना र अपेक्षाका साथै प्रदेश सरकारले राजस्व सङ्कलनको एउटा क्षेत्रको रूपमा लिएको छ” उनले भने, “राइड सेयरिङ व्यवहारमा लागु गर्न सबै यातायात व्यवसायी, आमनागरिक सबैमा अपिल गर्दछु ।”

ट्राफिक सचेतना कार्यक्रम साप्ताहिक कार्यक्रम मात्र नभएको बताउँदै हाम्रो जीवन र समाजलाई सुरक्षित, मर्यादित र अनुशासित बनाउने अभियान भएको उनले बताए । “सवारी चालक र यात्रुलाई नियममा बाँध्न, दुर्घटना न्यूनीकरण गर्न, नैतिक शिक्षा प्रदान गर्न यस्ता अभियान आफैँमा महत्त्वपूर्ण छ”, उनले भने, “ट्राफिक नियम उलङ्घन र लापरबाहीले दैनिक जसो दुर्घटना बढेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरण सहयोग पुग्ने छ ।”

सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई जाँचको सामग्री सहयोग गर्ने, सिसिटिभीहरू जडान गर्ने, सचेतनामूलक अभियानहरू सञ्चालन गर्न सहयोग गर्दै आएको उनको भनाइ छ ।