
लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा बेँसीसहर–चामे सडकखण्डको मनाङ जाने सडक अवरुद्ध भएको हो ।
लमजुङको मस्र्याङ्दी गाउँ पालिका–४ बुङ झरना नजिक ठुला ठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीयले बताए । स्थानीय चन्द्र गुरूङका अनुसार च्याम्चे नास्कु पुरानो जगत बाटो पनि पहिरोले अवरुद्ध भएको छ । जसका कारण नास्कुचे पुरानो जगतका विद्यार्थी तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।
डुम्रे, बेसीसहर–चामे सडक आयोजनासंग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।
यस सडकमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । वर्षायाममा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

