
पाेखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार पोखरा सभागृहमा भएको १७ औँ नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।
महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।
उक्त बजेटको खर्चमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
त्यस्तै स्वास्थ्य सेवामा ३१ करोड २ लाख रुपैयाँ, शिक्षातर्फ १ अर्ब ७३ करोड ३३ लाख ५१ हजार रुपैयाँ छुट्टाइएको छ।
खर्चमा संघीय सरकारको अनुदानबाट ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ र आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ। चालु आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट पोखराले ल्याएको थियो।
चालु वर्षको बजेट जेठ मसान्तसम्म ५५.४३ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरिएको छ। आन्तरिक राजस्व परिचालनबाट ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार रुपैयाँ, संघीय अनुदानबाट ५२ करोड ८७ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
पोखराको पर्यटकीय पूर्वाधार विकास, उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने लगायतका बुदाँ बजेटमा उल्लेख छ।
खर्च प्रणालीलाई सरल, सहज र व्यवस्थित गर्न आगामी आर्थिक वर्षदेखि सबै खर्च केन्द्रहरुमा विद्युत्तीय भुक्तानी प्रणाली पूर्ण रुपमा लागु गर्ने पोखरा महानगरको उद्घोष छ। ‘आम्दानी र खर्चको विविरण दैनिक रुपमा डिजिटल माध्यमबाट प्रकाशन गरिनेछ’, उपमेयर मञ्जुदेवी गुरुङले भनिन्।

