कृष्णभिरमा सवारी आवागमन एकतर्फी मात्र सञ्चालनमा

-


     मर्दी न्युज    
     असार १२ गते २०८२ मा प्रकाशित


धादिङ । पहिरोले कृष्ण भिरमा पृथ्वी राजमार्ग चर्किएर भासिँदा सवारी एकतर्फी मात्रै सञ्चालनमा रहेको छ ।

सडक निर्माणका क्रममा माइक्रोपाईलिङ्ग प्रविधिबाट फलामे बिम राखिसकेको र रक याङ्करीङ्गका लागि भारतबाट फलामे डण्डी ल्याउनु पर्ने भएकोले काम केही ढिलो भएको सडक विभागले जनाएको छ । अब भने स्थायी रुपमै स्टेबल हुने प्रविधिबाट पहिरो रोकथामको काम भैरहेको सडक विभागले जनाएको छ ।

पानी पर्ने क्रम सुरु भएसँगै पहिरोले फेरि दुख दिन सक्ने भएकोले काम तीव्र रुपमा सम्पन्न गर्न धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निर्देशन दिएका छन् । अहिले कृष्ण भिरमा पहिरो रोकथामका लागि पहिलो चरणको काम भैरहेको बताउँदै असार महिनामै पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य रहेको प्राविधिकहरुको भनाइ छ ।

लामो समयको प्रयासपछि पहिरो रोकथाम गरेकै स्थानमा पुनः २० वर्षपछि पहिरो जान सुरु भएको हो । करिव ८० मिटर क्षेत्रमा पहिरो जान सुरु गरेकोले यस क्षेत्रमा माईक्रो पाइलिङ्ग प्रविधिबाट पहिरो रोकथामको काम अघि बढाइएको हो । फलामे बिम राखी सकेको र ३० मिटर होरिजेन्टल ड्रिलिङ्ग गरी जमीन मुनिको ढुङ्गामा याङ्करीङ्ग गर्ने तयारी भइरहेको छ । काम सकिएसँगै अब कृष्ण भिरमा पहिरो जान रोकिने विज्ञहरुले बताएका छन् ।