जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपिल

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०८२ मा प्रकाशित


पाेखरा । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ ।

संघले आज एक अपिल जारी गर्दै होंचो भूभाग क्षेत्र तराईबाट एकै दिनमा अत्यधिक उचाई रहेका हिमालसम्मको यात्रा नगर्न/नगराउन अपिल गरेको हो । तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायता जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ ।

संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको छ ।

‘समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साढे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो ।’ विज्ञप्तिमा भनिएको छ– ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्ने छ ।’

संघका अनुसार गत आर्थिक वर्षमा मात्र अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा जाँदा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय रहेका थिए । भने अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक÷एक जना नागरिकको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई उद्दृत गर्दै संघले जनाएको छ ।