
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित भएका छन् ।
पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिएको हो । मङगलबार पोखरा-२५ सुइखेत रिभर भ्याली रिसोर्टमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार प्रदान गरेर सम्मान गरेका हुन् । यसअघि प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेको थियो ।
कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित भएका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरिसकेका छन् । उनी नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष हुन् ।
सम्मानित भएका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनले दरौंदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गरेका थिए । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम काठमाडौँ, रेडियो पालुङ मकवानपुर, रेडियो मुक्तिनाथ पाल्पा, रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरिसकेका छन् । अहिले उनी गोरखा समाचार डटकममा आवद्घ छन् ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई फोनिज गण्डकीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । २०७७ सालमा स्थापित यो पुरस्कारबाट यसभन्दा अगाडि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आवद्ध सबैलाई उत्प्रेरणा प्रदान गर्नको लागि गरिरहेको कार्यको प्रशंसा गरे । पत्रकारको क्षमता अभिवृद्धि गर्दै यो क्षेत्रको समग्र विकास गर्दै सकारात्मक परिवर्तनका लागि सन्देश दिन आवद्ध पत्रकारले तयार पार्ने सामाग्रीले दिन सकुन् भन्ने सन्देश उनले दिए । निरन्तरको मेहनतले यस्तो सफलता हात पर्ने उनले बताए ।
फोनिज गण्डकीले स्थापना दिवसका अवसरमा तीन दिवसीय कार्यक्रम गरेको हो । जसअनुसार साउन २५ गते फोनिज संवाद, २६ गते पत्रकारहरुबीच मैत्रीपूर्ण खेलकुद आयोजना गरेको थियो । फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

